सहकारीकर्मीहरुलाई रजिष्ट्रारको अनुरोध

सर्वप्रथम सहकारी अभिवादन !

देशमा न्यून आय भएका विपन्न तथा पिछडिएका जनताहरुको सामाजिक तथा आर्थिक उन्नति गर्न सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको छ । नेपालको अन्तरिम संविधानमा समेत आर्थिक विकास का तिनवटा आधार स्तम्भ मध्ये सहकारीलाई एउटा आधार स्तम्भका रुपमा स्वीकार गरिएको छ । अबको आवश्यकता भनेको एकातर्फ विकासले छुननसकेका सीमान्तवर्गको पहुँचमा सहकारीलाई पुर् याउनु परेको छ भने अर्को तर्फ संख्यात्मक गणनालाई मात्र नहेरी गुणात्मक विकास तर्फ ध्यान दिनु पनि उत्तिकै जरुरी छ । सहकारी नाफामूलक व्यवसाय मात्र नभै , सदस्यहरुको ईच्छा , आकांक्षा र आवश्यकतानुसार सेवा पुर् याउनु सहकारीको पहिलो प्राथमिकता भित्र पर्दछ । सहकारीको धेरै पक्षमा सकरात्मक योगदान छ , तापनि सहकारीलाई नाफा कमाउने उद्देश्य मात्र राखि केही व्यक्ति , समूहहरुले सहकारीको मूल्य , मान्यता , सिद्धान्त र आदर्शलाई विर्सेर आफ्नो स्वार्थ सिद्धिमा लाग्दा सहकारीलाई बदनाम गराउने दुस्प्रयास समेत हुँदै आएको छ ।

अतयव , सम्पूर्ण सहकारीकर्मी , नागरिक समाज , बुद्धिजिवी र सहकारीलाई माया गर्ने हरेक नागरिक अब सचेत हुने बेला आएको छ । अहिलेको आवश्यकता भनेको व्यवस्थित एवं विधिसंगत सहकारीको प्रबद्र्धन नै हो । तसर्थ , अन्तराष्ट्रिय सहकारी संघका सिधान्त मूल्य , मान्यता , प्रचलित ऐन , कानून , नियमलाई व्यवहारमा उतारी सहकारी शिक्षालाई जन – जनमा पुर् याई सहयोग गर्नुको साथै प्रत्येक सहकारीकर्मीले निम्नलिखित विषयमा पनि विशेष ध्यान दिन आग्रह गर्दछु ।

सहकारी के हो ? किन गठन गर्नुपरेको हो ? उद्देश्य र काम के हुन् ? जानकारी लिनुहोस् । सहकारी सम्बन्धी शिक्षामूलक सामाग्री विभिन्न सहकारी कार्यालयमा पाईन्छ । प्राप्त गरी अध्ययन गर्नु होस् ।
नेतृत्व गरिरहेका संचालक समितिका अध्यक्ष लगायत अन्य सदस्यहरु तपाईका परिचित हुन होईनन् ? निजहरु स्थायीरुपले कार्य क्षेत्र भित्र वसोवास गर्छन गर्दैनन् ? उनीहरुको सामाजिक हैसियत कस्तो छ ? अग्रिमरुपमा थाहा पाउनु होला ।
विज्ञापन लगायत विविध माध्यमबाट बढी र आकर्षक ब्याज पाउने लोभमा तपाई सदस्य त बन्न लाग्नु भएको छैन ? संस्थाको विश्वसनियता कत्तिको छ बुझेर मात्र रकम जम्मा गर्ने , कारोवार गर्ने गर्नु होस् ।

तपाई सदस्य भएको सहकारी संस्थाको सालबसाली लेखापरीक्षण हुने गरेको छ छैन ? जानकारी राख्नुहोस् ।

साधारण सभा गरी लेखापरीक्षण प्रतिवेदन लगायत वार्षिक कार्यक्रम तथा बजेट व्यापकरुपमा छलफल भै पारित हुने गरेको छ छैन ? साधारण सभा पूर्ण प्रजातान्त्रिक तरीकाबाट सम्पन्न हुन्छ हुदैन ? विचार पुर् याउनुहोस् ।
तपाई सदस्य भएको सहकारी संस्थाले गैर सदस्य (कार्य क्षेत्र भन्दा बाहिर बासोबास गरेका) संग कारोवार त गरेको छैन ? कार्यक्षेत्र बाहिर शाखा प्रशाखा खोली अनियमित तरीकाबाट रकम उठाउने त गरेको छैन ? यी सबै काम गैह्र कानूनी हुने हुदाँ त्यस तर्फ ध्यान दिनुहोस् ।
स्वीकृत विनियम (विधान) को उद्देश्य तथा कार्य विपरित काम गर्ने गरेको छ कि ? सदस्य हितका लागि विनियममा नभएका कुनै नयाँ कार्य गर्नु परेमा विधिवत विनियम स्वीकृत गराई गर्ने गरेको छ छैन ? समयमा नै चनाखो हुनुहोस् ।
स्वीकृत विनियमको प्राब्धान अनुशार छुट्याईएका कोषहरुको व्यवस्थापन कस्तो छ ? वर्षेनी शेयर लाभांस कोष तथा संरक्षक पूँजीकोषको नियमानुशार वितरण हुने गरेको छ छैन ? जोखिमकोषको प्रर्याप्त व्यवस्था गरिएको छ छैन ? यस सम्बन्धमा आफूले पनि जानकारी लिने अरु सदस्यलाई पनि जानकारी गराउनु होस् ।

समयानुसार सबै सदस्यहरुलाई सहकारी शिक्षा लगायत अन्य सम सामयिक तालिमको संचालन गर्ने गरिएको छ छैन ? यस्तो व्यवस्था नभएको भए पहल गर्नुहोस् ।

ऋण लगानी गर्दा प्रर्याप्त धितो व्यवस्था गरिएको छ छैन ? व्याज लिने र दिनेमा औषत व्याजदरको अन्तर ६ प्रतिशत भन्दा फरक पारिएको छ कि ? संस्थाको लगानी गलत ठाउँमा भएको त छैन ? विचार पुर् याउनु होस् ।

कुनै पनि सहकारी संस्थाले सामान्यतयाः कुल शेयर पूँजीको बढीमा १० गुणासम्म सदस्यहरुबाट बचत / निक्षेप लिन सक्ने प्राबधान रहेकोले शेयर पुँजी र बचतको अनुपात मिलेको छ छैन ? जानकारी लिने प्रयास गर्नुहोस् ।

यस बाहेक , समय समयमा केन्द्रमा सहकारी विभाग , क्षेत्रीय स्तरमा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय र जिल्लामा जिल्ला स्थित डिभिजन सहकारी कार्यालयहरुमा सम्पर्क राखि यस सम्बन्धी विस्तृत जानकारी लिई सहकारीताको विकासमा सहयोग गर्नुहोस् ।
सहकारी सम्बन्धी केही सुझाव , शिकायत र प्रतिकृया भए निम्न ठेगानामा पत्राचार गर्नु हुन अनुरोध छ ।
 
  • sahakaribivag@gmail.com